स्कुल पढ्दै देखिको पत्रकारिताप्रतिको एउटा गहिरो रहर थियो मनमा। तर, जीवनको यात्रा र पारिवारिक बाध्याताले मलाई नेपाल देखि मलेशिया अनि त्यसपछि कुवेतको भूमिमा पुर्यायो। यहाँ आएपछि सुरुवाती दिनहरूमा नौ घन्टाको काम पछाडिको फुर्सदको समय कसरी बिताउने भन्ने थियो। यही क्रममा मैले आफ्नो रहरलाई सिर्जनात्मक ढङ्गले अगाडि बढाउने सोचबिचारको साथ लेख रचनाहरू लेख्न सुरु गरें। मलेशियामा हुँदा नै सानोतिनो लेख रचना र पत्रमित्रताको समय त्यहाँको नेपाली पत्रिकामा हुलाक मार्फत पठाएर छाप्ने रहर अनि त्यो पनि पुरा भएको थियो।र कुवेत आएपछि संजालको पयोग बढ्दै जाँदा लेख्ने रहरमा झन यो समय मेरो लागि सिक्ने र बुझ्ने एउटा नयाँ पाठशाला रुपमा आफैले लिन थाले ।
यही सिकाइको क्रममा म कुवेतबाट संचालित परदेशी खबर डटकमसँग जोडिन पुगें। यो मेरो पत्रकारिताको औपचारिक सुरुवात बिन्दु थियो भन्दा फरक पर्दैन। परदेशी खबरमा जोडिएपछि मैले अनलाइन पत्रकारिता अनि नागरिक पत्रकारिता भन्ने धेरै कुराहरू सिक्ने अवसर पाएँ। यस अनलाइनका संस्थापक तथा प्रधानसम्पादक लामा भाइ अनि बर्तमान प्रधानसम्पादक नैनकला राई ले मलाई निरन्तर हौसला र मार्गदर्शन दिनुभयो, जसले गर्दा पत्रकारितामा मेरो रुचि अझ बढ्दै गयो। उहाँहरुको साथ र प्रेरणाले नै म यो क्षेत्रमा अझ सक्रिय हुन सकें। त्यसक्रममा विभिन्न सहकर्मीहरु पनि जोडीए र सिक्न पाए।
समयसँगै सिक्दै र बुझ्दै जाने क्रममा नेपाल पत्रकार महासंघ वैदेशिक शाखा, कुवेतमा आबद्ध हुने अवसर पाएँ। यस अवसरको लागि शाखामा दुइ सफल कार्यकाल बिताउनु भएका हाल नेपाल रहनु भएको आदरणिय हरिकृष्ण न्यौपानेज्यु प्रति आभार। यो संस्थासँगको मेरो सम्बन्धले पत्रकारिताप्रतिको मेरो बुझाइलाई अझ फराकिलो बनाउने क्रम बढ्दै गयो । सुरुमा म यस शाखाको साधारण सदस्यको रूपमा जोडिएँ। त्यसपछि, मैले कार्यकारी सदस्यको जिम्मेवारी सम्हाल्ने अवसर पाएँ।यो अवसरको लागि निवर्तमान अध्यक्ष नवराज पन्थीज्यु प्रति पनि हार्दिक नमन। संस्थामा सक्रियता र योगदानसँगै मलाई हाल सचिव पदको महत्त्वपूर्ण जिम्मेवारी दिइएको छ। र वर्तमान अध्यक्ष एकराज मल्लको अध्यक्षतामा १६ औं वार्षिकोत्सव सफलता पुर्वक मनाउदै गर्दै गर्दा त्यसमा एउटा हिस्स लिन पाउँदा खुसि छु।
नेपाल पत्रकार महासंघ वैदेशिक शाखा, कुवेतले आफ्नो १६औं स्थापना दिवस मनाउन यस महत्त्वपूर्ण अवसरमा सचिवको हैसियतले योगदान दिन पाउँदा म आफूलाई अत्यन्तै भाग्यमानी र गौरवान्वित महसुस गरेको छु। यो शाखालाई आजको यो उचाइसम्म ल्याइपुर्याउन संस्थापकज्यूहरूदेखि विभिन्न कालखण्डमा जोडिनुभएका सम्पूर्ण अग्रज व्यक्तित्वज्युहरू, जसले आफ्नो अमूल्य समय, ज्ञान र ऊर्जा यस संस्थाको हितमा लगाउनुभयो, उहाँहरूप्रति म हार्दिक नमन व्यक्त गर्न चाहन्छु। उहाँहरूको दूरदर्शिता र निरन्तरको प्रयासले नै नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले प्रवासी नेपाली पत्रकारितामा एक छुट्टै पहिचान बनाउन सफल भएको छ। र यसले अझ निरन्तता पाउनेमा आशावादी छु।
वैदेशिक शाखामा आबद्ध भएपछि मैले वैदेशिक पत्रकारितालाई नजिकबाट नियाल्ने र बुझ्ने अवसर पाएँ। परदेशमा बसेर पत्रकारिता गर्नुका आफ्नै चुनौती र अवसरहरू हुँदा रहेछन्। यहाँका राम्रा पक्षहरू, जस्तै प्रवासी नेपालीहरूको आवाजलाई मूलधारसम्म पुर्याउने अवसर, स्थानीय समुदायसँगको घुलमिल र उनीहरूका समस्यालाई उजागर गर्ने जिम्मेवारीलाई नजिकबाट महसुस गर्ने त्यो अवसर मिल्यो । त्यस्तै, सीमित स्रोतसाधन, प्रविधिको पहुँच, समाचार संकलनमा आउने चुनौती र कानुनी जटिलताहरू जस्ता केही नराम्रा पक्षहरूलाई पनि मैले अनुभव गरें। यी हरेक कुराहरूले मलाई पत्रकारिताको वास्तविक धरातल बुझ्न मद्दत पुर्यायो।
यो सम्पूर्ण यात्रामा मलाई सहयोग गर्ने हरेक पल, हरेक व्यक्ति र हरेक अनुभवलाई म हृदयदेखि धन्यवाद दिन चाहन्छु। पत्रकारिता एउटा यस्तो पेशा हो जहाँ हरेक दिन नयाँ कुरा सिक्न पाइन्छ, नयाँ चुनौती सामना गर्नुपर्छ र समाजका लागि केही सकारात्मक परिवर्तन ल्याउन सकिन्छ। सायद त्यसैले होला राज्यको चौथो अंगको रुपमा रहेको।
अन्त्यमा, नेपाल पत्रकार महासंघ वैदेशिक शाखा, कुवेतलाई यसको १६औं गौरवमय स्थापना दिवसको हार्दिक शुभकामना व्यक्त गर्दछु। आगामी दिनहरूमा यस शाखाले अझ धेरै सफलता प्राप्त गरोस् र प्रवासी नेपाली समुदायको आवाजलाई अझ सशक्त रूपमा बुलन्द गर्दै जाओस् भन्ने कामना गर्दछु।
आकाश शेर्पा ( आङ्ग काजी)
सचिव
नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेत
कार्यकारी सम्पादक
परदेशी खबर डटकम